
काठमाण्डू, १ जेठ- काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो आलोचना गर्ने कार्यपालिका अन्तर्गतका चार समितिका संयोजक फेरेका छन् ।
नगर कार्यपालिका नियमावली २०७४ को नियम १५ अनुसार गरिएको यो पुनर्गठनलाई महानगरले नियमित कार्यसम्पादन प्रक्रियाअन्तर्गतको निर्णय भएको दाबी गरेको छ । योसँगै महानगरपालिकामा देखिएको पछिल्लो राजनीतिक घटनाक्रम र आन्तरिक किचलोका बीच नयाँ विवादको जन्म भएको छ ।
हटाइएका वडाध्यक्षहरूले मेयर साहको निर्णय व्यक्तिगत र पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
सूचना प्रविधि समितिका संयोजकमा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
मानन्धरले केही समयअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय प्रवेशमा भूमिका खेलेका थिए । जुन बेला उनी बालेनको निर्णयसँग असहमति जनाउँदै खुलेर प्रस्तुत भएका थिए ।
यस्तै, सुशासन समितिबाट वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाइएर वडा ३० का अध्यक्ष दलबहादुर कार्कीलाई, सम्पदा तथा पर्यटन समितिबाट वडा नम्बर ८ का अध्यक्ष आशामान संगत हटाइएर वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई, र विधायन समितिबाट वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन हटाइएर वडा १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक बनाइएको छ ।
यो पुनर्गठनसँगै महानगर कार्यपालिका भित्रको नयाँ शक्ति सन्तुलनमा हेरफेर आउने भएको छ । बालेनले आफ्ना आलोचक वडाध्यक्षहरूप्रति कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।