घिसिङलाई पूर्नवहाली नगरे मन्त्री हटाईछाड्छौं : कर्मचारी युनियन

काठमाण्डु टुडे २०७१ साउन ६ गते ९:५३ मा प्रकाशित

काठमाण्डु , ६ साउन – उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलबिद्युत कम्पनी लिमिटेडमा काजमा खटाईएका प्रबन्ध संचालक कुलमान घिसिङ्लाई राजनीतिक हस्तक्षेप गर्दै हटाएको भन्दै विभिन्न सात ट्रेड युनियनले तुरुन्त पूनर्वहाली नगराए आन्दोलनबाट मन्त्रीको जागिर खाईदिने चेतावनी दिएका छन् ।

karmachariमंगलबार रिपोर्टर्स क्लब नेपालमा सयुंक्त पत्रकार सम्मेलन गर्दै विभिन्न कर्मचारी युनियनका प्रतिनिधिहरुले चिलिमे जलबिद्युत कम्पनी लि. मा कार्यकारी देखि नेपाल विद्युत प्राधिकरणका विभिन्न उच्च तहका पदहरु निमित्तबाटै संचालन भैरहेको जानकारी दिँदै सो परिस्थितिलाई वर्तमान मन्त्री राधा ज्ञवालीले बेवास्ता गरी एकलौटी निणर्य गरेकोमा आपत्ति जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले मन्त्री ज्ञवालीले मन्त्रालय नचलाएको बरु अन्य कसैले चलाएको आरोप लगाउँदै उर्जाको ‘उ’ पनि थाहा नहुने मान्छे मन्त्री हुनै नसक्ने बताउँदै पदबाट तुरुन्त राजिनामा दिनुपर्ने बताए ।

भट्टराईले घिसिङको दोश्रो कार्यकालको लागि म्याद थप्ने कुरा भैरहेको स्मरण गराउदै मन्त्रीको ठाडो आदेशबाट काज फिर्ता गर्ने निर्णयप्रति आपत्ति जनाए ।

उनले भने–मुलुक अन्धकारबाट आक्रान्त छ, यस्तो अवस्थामा नेपाली लगानीबाटै जलबिद्युत आयोजना सम्भव छ है भनी देखाउन पनि ने.वि.प्रा. मा कार्यरत कर्मचारीहरु र कर्मचारीहरुको सञ्चय कोषबाट साञ्जेन, रसुवागढी, मध्य भोटेकोशी गरि २७० मेगावाट विद्युत उत्पादन गर्ने आयोजना समेतको कामकारवाही अघि बढेको छ ।

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संघ, ने.वि.प्रा. का कार्यवाहक अध्यक्ष खगेन्द्र शाहीले नेपालको राष्ट्रिय पुँजीको संरक्षण गर्न चिलिमे जलविद्युत आयोजनाले मार्गदर्शकको भूमिका निवार्ह गरेको उल्लेख गर्दै जलबिद्युत आयोजनाहरुको निर्माण प्रभावकारी ढंगले अगाडी बढाउने क्षमता राख्ने प्रबन्ध संचालक कुलमान घिसिङलाई काज फिर्ता गर्ने निर्णय पूर्नविचार नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने–घिसिङलाई काज फिर्ता गर्ने गरि भएको निर्णय स्वदेश श्रम र पूँजीको उचित प्रयोगलाई निरुत्साहित गर्ने तथा जलमाफिया र भेरियशन गरेर खाने प्रवृत्तिलाई प्रोत्साहन गर्ने काम हो ।

कार्यक्रममा विभिन्न सात कर्मचारी युनियन राष्ट्रिय कर्मचारी संघ, नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी संघ, नेविप्रा, कर्मचारी कल्याण परिषद, नेविप्रा, नेपाल विद्युत प्राधिकरण, कर्मचारी संघ, लगायतका प्रतिनिधिहरुले आन्दोलनको कार्यक्रममा ऐक्यबाद्धता जनाउँदै घिसिङको पूर्नवहाली नभए आन्दोलनबाटै मन्त्रीको जागिर खाईदिने चेतावनी दिएका छन् ।

उनीहरुले विगतमा पनि आफूहरु राष्ट्रिय एजेन्डामा सवै कर्मचारी युनियनहरु एक ठाउँमा उभिएको स्मरण गर्दै घिसिङ्लाई तुरुन्त पूर्नवहाली गर्नुपर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us