गोरखा, ६ साउन – लार्के पासमा पर्ने पर्यटकीय मार्ग खोर्लावेसी चिउरी भीरमा गएको पहिरोका कारण उत्तरी गोरखा, छेकम्पार, सामागाउँ, सिर्दीवास, चुम्चेत, ल्हो र प्रोक जाने मानिसलाई आवतजावतमा सास्ती भएको छ ।
तीन दिनअघि गएको पहिरोका कारण स्थानीय जनतालाई आउजाउमा समस्या भएको स्थानीय तुलसी गुरुङले जानकारी दिए ।
बाटोमा पहिरो गएपछि गण्डकी तर्नुपर्ने बाध्यता आइलागेको छ । गण्डकीमा बाढी आएका कारण तर्न सक्ने अवस्था छैन । १० मिटर चौडा बाटोमा गण्डकी नदीसम्म पहिरो गएको सूर्य गुरुङले बताए ।
चिउरी भीर गुम्दा र उहिया गाविसको बीचमा पर्दछ । बाटो नभएपछि यहाँका मानिसले हिँड्न पाएका छैनन् । सामान बोकेर जाने खच्चड हप्तादिनदेखि माथि नगएको स्थानीयवासीले बताएका छन् ।
बाटो छिटो बनाउन निर्वाचन क्षेत्र नं ३ का सभासद् छमबहादुुर गुरुङसँग माग गरिएको गुम्दा गाविसका सचिव हरिबहादुर भुजेलले बताए । जिल्ला तहका योजना यस क्षेत्रमा नदिने गरेका कारण बर्सेनि समस्या हुने गरेको छ । छिटो बाटो निर्माण नगरे उत्तरी गोरखामा भोकमरीको अवस्था आउने सभासद् गुरुङले औल्याए । रासस