
काठमाण्डु, २९ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
राष्ट्रपति भवन शीतलनिवासमा अपारह्न १ बजे पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । काँग्रेस वरिष्ठ नेता पौडेल गत २५ फागुनमा मुलुकको तेश्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यसैबीच निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शीतलनिवास छाड्ने भएकी छन् ।
भण्डारी आजै बुढानीलकण्ठस्थित निजी निवास सर्ने तयारी छ । शीतलनिवास छाड्नुअघि भण्डारीले आइतबार साँझ नवनिर्वाचित राष्ट्रपति पौबडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरूसँग बिदाई भेट गरेकी थिइन् ।