विराटनगर, ५ साउन – सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले मुख्य सचिवको परिवर्तनको हल्ला निराधार रहेकोे स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँगको भेटघाटका क्रममा उनले प्रधानमन्त्री अमेरिकाबाट उपचार गराएर भोलि साँझसम्म काठमाण्डु फर्कंने जानकारी दिए ।
संविधान बनाउन धेरै समय बाँकी नरहेको उल्लेख गर्दै मन्त्री रिजालले जनताको अभिमतबाट बाहिर गएर संविधान बन्न नसक्ने भएकाले एकीकृत माओवादीलगायतका पार्टीलाई सहमति नभएका विषयमा अविलम्ब सहमतिमा आएर संविधान निर्माणको कामलाई गति दिन आग्रह गरे ।
उनले संविधानसभाको निर्वाचनअघि स्थानीय निकायको निर्वाचन गराउने विषयमा आफूले गरेको प्रतिवद्धताबाट एकीकृत माओवादीले पछि हट्न नहुने बताए ।
संविधानसभा सदस्यको २६ मनोनीत सदस्यका लागि राजनीतिक पार्टीले समयमै नाम पेस नगरेका कारण मनोनयनमा ढिलाइ भएको र प्रधानमन्त्रीको आगमनपछि यस विषयमा कार्यअघि बढ्ने उनले जानकारी गराए ।
भारतसँग ऊर्जाका विषयमा सहमति हुँदैछ कि भनी पत्रकारले राखेको जिज्ञासामा उनले बिजुली आदानप्रदान मुख्य विषय रहेको र मुलुकको हित हेरेर मात्रै त्यस्तो सम्झौता गरिने बताए ।
मााथिल्लो तामाकोसी निर्माण भएपछि नेपालले सात महिनामा ३५ अर्बका बिजुली निर्यात गर्ने उल्लेख गर्दै उनले दुई देशबीच चित्त बुझ्दो खालका सम्झौता हुने स्पष्ट पारे ।
मन्त्री रिजालले १८ वर्षअघि एक पार्टीले विरोध गर्दा अरुण तेस्रो परियोजना निर्माण हुन नसकेको प्रसङ्गसमेत उल्लेख गरे ।