पाँच वर्षीया बालिका बलात्कार गर्ने युवक कारागार चलान

काठमाण्डु टुडे २०७१ साउन ५ गते ८:५३ मा प्रकाशित

खोटाङ, ५ साउन – स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई कारागार चलान गरिएको छ ।

मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा गत असार ९ गते पक्राउ परेका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेल कारागार चलान भएका हुन् ।

जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएका भुजेललाई अदालतको आदेशमा आइतबार जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

घरका अभिभावक खेतमा काम गर्न गएको मौका पारेर असार ७ गते बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको उजुरी परेको थियो ।

उजुरीपछि भुजेललाई प्रहरी कार्यालय छितापोखरीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

भुजेलले मादक पदार्थले मातेर बालिका बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार गरिएका बालिकाको स्वास्थ्यमा सुधार आएपछि घर पठाइएको जिप्रका खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।

बलात्कृत बालिकालाई महिला तथा बालबालिका कार्यालय खोटाङले राहतस्वरुप पाँच हजार आर्थिक सहयोग गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us