महाकालीको तटबन्ध भत्काउन सुरु

काठमाण्डु टुडे २०७१ साउन ५ गते ८:४५ मा प्रकाशित

कञ्चनपुर, ५ साउन – दुई दिनदेखि अविरल रुपमा परेको वर्षाको पानीले महाकाली नदीको तटबन्ध भत्काउन सुरु गरेको छ ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरद्वारा भीनपा–११ भुजेलामा निर्माणाधीन तटबन्ध बाढीले भत्काउन सुरु गरेको स्थानीय जनताले बताएका छन् ।

चुरे क्षेत्रबाट बगेर आएको पानीका कारण तटबन्ध भत्किएको स्थानीय गणेश थापाले जानकारी दिनुभयो । चुरे क्षेत्रबाट आएको पानीले वारिपट्टिको तटबन्ध भत्काएको छ ।

गाउँतिर तटबन्ध भत्किएपछि स्थानीय जनता चिन्तित बनेका छन् । “विगतका वर्षमा बाँध नभएका कारण महाकाली नदीले कटानी गर्दथ्यो, भने अब बाँध बाँधेपछि गाउँबाट बगेर आउने पानीले बाँध काट्यो,”, स्थानीय जनताले भने ।

उक्त क्षेत्रमा अहिले सुरक्षाकर्मीले बाँध बाँधिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीका अनुसार भुजेला क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले तटबन्ध निर्माण गरिरहेका छन् ।

बाहिरबाट आएको पानीले तटबन्ध भत्काएपछि कटानी भएको बाँधमा अस्थायी तटबन्ध बनाउने काम भइरहेको छ । बाहिरबाट आएको पानी व्यवस्थापन गर्न नसक्दा बाँध भत्किएको जनताको तटबन्ध कार्यक्रमका कार्यालय प्रमुख अनुपकुमार थापाले जानकारी दिए ।

भारतले तटबन्ध निर्माण गर्न लागेको क्षेत्रबाट उक्त पानी पाइपद्वारा महाकाली नदीमा निकासा नगरेका कारण बाँध भत्किएको प्रमुख थापाको भनाइ छ ।

भीनपा–११ स्थित भुजेलामा शून्य प्वाइन्टदेखि ९५० मिटर बाढी प्रभावित क्षेत्रमा आठवटा स्परसहित तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख थापाले बताए ।

भुजेलाको तटबन्ध निर्माणमा नौ करोड २९ लाख ८० हजार २५८ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गत वर्ष पनि महाकालीले उक्त क्षेत्रमा जनजागृति निमाविलगायत २४ घर बगाएपछि त्यहाँका स्थानीय जनता बिचल्लीमा परेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us