तीन लुटेरा पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ५ गते ७:११ मा प्रकाशित

गौशाला, ५ साउन – चिनी मिलका कर्मचारीको मोटरसाइकलसहित लुटेर लग्ने तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास गाविस–५ बस्ने अशोक महतो, वडा–२ बस्ने विवेक साह र वडा–९ बस्ने ललित महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको रामनगर गाविसमा अवस्थित एभरेस्ट चिनी मिलमा जेटिए पदमा कार्यरत सिरहा जिल्लाको रामपुर विर्ता गाविस–३ बस्ने रामबुनेश यादव हिजो साँझ आफ्नो घरबाट मोटरसाइकल चढी चिनी मिल गइरहेको बेला पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको गौशाला चोकदेखि चिनी मिल जाने बाटोको बीच जङ्गलमा तीन जनाको समूहमा रहेका लुटेराले लाठी र खुकुरी देखाई लुटपाट गरी भागेका थिए ।

लुटेराले जेटिए यादवका स३प ५४९५ नम्बरका मोटरसाइकल, हेलमेट, ब्लुबुक र ऊ सँग रहेको एक हजार २०० नगद लुटी भागेका थिए ।

यादवको मोटरसाइकल लुटी फरार रहेका लुटेरालाई प्रहरीले खोजतलास गर्दै जाँदा आज जिल्लाको किसाननगर गाविसको हनुमानचोकमा मोटरसाइकलसहित तीनै जनालाई फेला पारिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताएका छन् ।

पक्राउ गरिएका लुटेरालाई आवश्यक अनुसन्धानका लागि जिप्रका महोत्तरीमा ल्याइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us