
काठमाण्डु,१० फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको बताएका छन ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले लघुवित्तमा देखिएका समस्या समाधान गर्न सरोकारवालाहरुसँग गम्भीर छलफल भइरहेको पनि बताएका छन ।
उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको जानकारी दिएका छन । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरुले काम सुरू गरिसकेको बताएका छन । उनले भने,‘ लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाइन । यो विषयमा गम्भीर भएर सरोकारवालाहरुसँग बैठक बसेका छौं ।
केही महत्वपूर्ण निर्णयहरु पनि गरेका छौं, लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ । लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यस्ता समस्या आउनुका कारणहरु खोजेर त्यसको समाधानका लागि सम्बन्धित निकायहरुले काम गरिरहेका सकेका छन् ।
त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।’ उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको पनि बताएका छन । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताएका छन ।