
काठमाण्डु, २ फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन ।
आज (मंगलबार) बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन ।
उनले भने, ‘अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा स्रोतको अभाव नहोस् भन्नेमा सरकारको ध्यान छ ।’
अर्थतन्त्रमा देखिएको चुनौतीका कारण अहिले सरकार दबावमा रहेको भन्दै उनले भने, ‘यो प्रेसरमा साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने नीति हो ।’
गत पुस मशान्तसम्म मुलुकको सञ्चित कोष १ खर्ब ३९ अर्ब ऋणात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले अवस्था सुधार हुन समय लाग्ने बताएका छन ।
‘हाम्रो अर्थतन्त्रको स्वस्थ जीवनका लागि यो गम्भीर चिन्ताको विषय हो । हाम्रो अवस्थालाई इग्नोर गरेर अगाडि बढ्न सक्दैनौं’ उनको भनाइ छ ।
बजेटलाई राजस्वमा नै केन्द्रित बनाउन चाहेको भन्दै अर्थमन्त्री पौडेलले तर त्यस्तो अवस्था अहिले नै सम्भव नभएको बताएको छन ।