चैतपछि मात्रै चितवन–२ मा उपनिर्वाचन हुन्छ: थपलिया

काठमाण्डु टुडे २०७९ माघ २४ गते १८:२४ मा प्रकाशित

काठमाण्डु,२४ माघ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन–२ मा उपनिर्वाचन सम्भव नभएको बताएका छन ।

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका छन । उनले राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने बताएका छन ।

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो ।

देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्ने जानकारी दिएका छन ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको जानकारी दिएका छन ।

राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी रहेको छ । थपलियाले भने, ‘उपनिर्वाचन गर्न आयोगलाई कुनै समस्या छैन, बजेट छँदैछ, सामान छँदैछ ।

सरकारले पनि ढिलो गर्ने भनेको छैन जस्तो लाग्छ, हामी त चुनाव गर्न अधिकार पाएर बसेको मान्छेले ढिलो गर्ने त कुरै छैन ।’

राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको बताउँदै उनले छिटोमा आगामी चैत मसान्तपछि मात्र गर्न सकिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us