
काठमाण्डू, २५ वैशाख– कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरीएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर भएका २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।
सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।
बिहीबार साँझ फेवातालमा सात जना सवार डुङ्गा पल्टिएको थियो ।