चितवन–२ का मतदातालाई अभिभावकत्व दिन्छौँ: शेखर कोइराला

काठमाण्डु टुडे २०७९ माघ २४ गते १६:१८ मा प्रकाशित

काठमाण्डु,२४ माघ– कांग्रेस नेता डा शेखर कोइरालाले चितवन–२ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका छन ।

४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । उनले भने, ‘तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु पर्‍यो ।

ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।’ उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताएका छन ।

नेता कोइराला भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us