राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०७९ माघ ९ गते १५:५७ मा प्रकाशित

काठमाण्डु,९ माघ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन ।

आज (सोमबार) ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताएका छन । उनले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सकारले कुनै पनि हस्तक्षेप नगर्ने बताएका छन ।

उनले भने, ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीतिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो । ’

‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगरने उनले बताएका छन ।

पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रबर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताएका छन ।

उनले भने,‘आकारमा सानो तर योगदानमा ठूलो भएको लघु, घरेलु तथा साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रबर्द्धन गर्नसक्छौ । यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्नसक्छौं र सबैभन्दा सार्थक उपाय हामी खोज्छौ । ’

उनले साना उद्योगका समस्याहरुलाई बुझ्नका लागि सरकार प्रतिवद्ध रहेको पनि बताएका छन । उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने बताए ।

उनले भने, ‘कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासो गर्नुभएको छ, कहाँ कसले कस्तो प्रकृतिको गल्ती गरेको छ, त्यसका बारेमा अर्थ मन्त्रालयको नेतृत्वलाई जानकारी दिनुहोस् । ’

राज्यका कुनैपनि निकाय, कर्मचारीले कोही पनि नागरिकलाई हैरान गर्ने काम गर्नुहुँदैन । दुःख दिने अधिकार कसैलाई छैन । कसैले दुःख दिइरहेको छ भने जानकारी पाउँ, कारबाहीको दायरामा ल्याउँछौं ।’

निजी क्षेत्रले सरकारसँग र सरकारले निजी क्षेत्रसँग गरेका अपेक्षाहरुलाई सघाउने सन्दर्भमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us