
काठमाण्डु,६ माघ– उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप लिङ्देनले आफूलाई सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट नभएको बताएका छन ।
आज (शुक्रवार)बाट काठमाण्डुको भृकुटीमण्डपमा सुरू भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने बताएका छन ।
उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताएका छन ।
उनले भने, ‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ ।
कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन ।’ उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन ।
मन्त्री लिङ्देनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्ने बताएका छन । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए ।
उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताएका छन । उनले देशभित्रै उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए ।
उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए । उनले भने, ‘ म भन्छु, ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्छ ।
इण्डक्शन चलाउनुपर्छ । देशभित्रै उद्योगधन्दाको स्थापना हुनुपर्छ । उद्योगीहरुलाई सरकारले लगानीको सुरक्षित हामी गर्छौं भन्ने वातावरण बनाउनुपर्छ । त्यसतर्फ हामी उन्मुख हुन्छौँ र देशमा व्यापक रुपमा उद्योगधन्दाको बिस्तार हुनुपर्छ ।’