
काठमाण्डु, २८ पुस– प्रतिनिधिसभाबाट भारी विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एक/दुई दिनभित्रै प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् । गत १० पुसमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।
मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी स्वरुप प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए । प्रधानमन्त्रीले १० पुसमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । उपप्रधानमन्त्रीहरु एमालेका विष्णु पौडेल अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात र रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री छन् ।
राप्रपाले पनि उपप्रधानसहित चार मन्त्रालयमा दाबी गरिरहेको छ । सरकारलाई समर्थन गरे पनि जसपाबाट अझसम्म कोही मन्त्री बनेका छैनन् । सरकार गठनमा समर्थन गरेका ७ दल मात्र सरकारमा सहभागी हुने सम्भावना छ ।
नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षी भूमिकामा रहने स्पष्ट गरेको छ । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी नहुने भएको छ ।