सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिए जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाण्डु टुडे २०७९ पुष १९ गते १४:५१ मा प्रकाशित

काठमाण्डु,१९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन । उनले उनले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिएका छन ।

प्रचण्डले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताएका छन ।

उनले भने, ‘ कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाईँहरू पन्छिन पाउनुहुन्न’, ‘तीनै तहमा तपाईँहरुले खटाएका कर्मचारीले काम गरिरहेका छन् ।

र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार तपाइहरूले लिएर बस्नुभएकै छ । त्यसैले त्यहाँका जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपार्इँ हामी पन्छिन मिल्दैन ।’

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ, उनले भने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us