एमाले पूर्वसांसद् इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाण्डु टुडे २०८२ जेठ ४ गते २०:५९ मा प्रकाशित

काठमाण्डू, ४ जेठ- सर्वोच्च अदालतले एमाले पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न काठमाण्डू जिल्ला अदालतले यसअघि दिएको आदेश सदर गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । आफूलाई थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गर्दै इच्छाराजले २०८० माघमा सर्वोच्चमा निवेदन दायर गरेका थिए । उनी सम्पत्ति शुद्धीकरण, ठगी र संगठित अपराध मुद्धामा पुर्पक्षका लागि थुनामा छन् । काठमाण्डू जिल्ला अदालतको २०७८ पुस १४ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेशलाई उच्च अदालत पाटनले २५ कात्तिक २०७९ सदर गरेको थियो ।
सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक समिति अध्यक्ष तामाङलाई विशेष अदालतले ७ माघ २०८० मा ठगी कसुरमा दोषी ठहर गर्दै १ अर्ब ७२ करोड ४४ लाख बढी जरिवानासहित तीन वर्ष कैद सजाय तोकेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us