तिलगाउँमा लेदोसहितको पहिरो, १८ घर जोखिममा

काठमाण्डु टुडे २०८२ जेठ ४ गते २२:०० मा प्रकाशित

हुम्ला, ४ जेठ- हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लगातारको वर्षासँगै आएको पहिरोले स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।
जेठ १ गते रातिबाट सुरु भएको पहिरोका कारण गाउँका ५० मध्ये १८ घरधुरी उच्च जोखिममा परेका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार ती घरमा बसोबास गर्ने दुई बालकसहित ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरू गाउँ नजिकैको चौरमा त्रिपाल टाँगेर अस्थायी रूपमा बसेका छन् ।
डिएसपी थापाले दिएको जानकारी अनुसार शनिबार राति साढे ११ बजेदेखि आइतबार बिहान ५ बजेसम्म पहिरो खसेको थियो ।
गाउँको उत्तरतर्फको भिरालो जमिनबाट लेदोसहितको पहिरो खसेको उनले बताए । गाउँभन्दा करिब १५ किलोमिटर माथि ताल फुटेर पहिरो आएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको हिल्सास्थित बिओपी र इलाका प्रहरी कार्यालय हिल्साबाट खटिएका सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । उनीहरूले स्थलगत मूल्यांकन गरी जोखिममा परेका घरहरूको विवरण संकलन गरेका छन् ।
पहिरोले पाँचवटा काठका पुल र स्थानीय बाटो पूर्ण रूपमा बगाएको छ । पहिरोले १५ किलोवाटको ग्रामीण जलविद्युत आयोजना क्षतिग्रस्त बनेको छ । यस्तै सिंचाई कुलो बगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us