
काठमाण्डु,१० पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल जारी छ । एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल जारी छ ।
कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा सुरु गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका सँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।
मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ ।