निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै निर्वाचन आयोग

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आज बुधबार सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जानकारी दिएको छ । आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।

तर नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् ।

तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ ।

दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि प्रप्त गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us