
काठमाण्डू, ९ जेठ– प्रधानमन्त्री केपी ओलीले आफूलाई भाग्नका लागि हेलिकोप्टर उपलब्ध गराउने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको चेतावनीलाई उत्ताउलो अभिव्यक्तिको संज्ञा दिएका छन् ।
पार्टीनिकट राष्ट्रिय युवासंघको १०औं राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन ओलीले आफूलाई हेलिकोप्टरमा भाग्न बाध्य पार्ने भन्ने कुचेष्टालाई धुलोपिठो पारिने चेतावनी दिए ।
जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोकिने उनको भनाइ थियो । ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न भने ।
‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ’, ओलीले भने , ‘त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’
राप्रपा अध्यक्ष लिङ्देनले कुनै पनि हालतमा राजा फर्काउने दाबी गर्दै वृद्ध भएका कारण भाग्न नसक्ने भए प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर उपलब्ध गराइने बताएका थिए ।
ओलीले एमालेमाथि देशभित्र र बाहिरका विरोधीहरु केन्द्रीकृत आक्रमणमा उत्रिएको उनको भनाइ थियो । ओलीले एमाले सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी भएको दाबी गरे ।
एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्नो कर्तव्य पूरा गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिए ।
एमालेको नेतृत्वमाथि अनुचित र झुठा लाञ्छना लगाउने काम भइरहेकाले त्यस्ता भ्रम तोड्न एमाले पंक्ति एकजुट हुनुपर्ने उल्लेख गरे ।