
काठमाण्डू, ९ जेठ– रूकुम पश्चिममा विद्युत मर्मतको काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको ज्यान गएको छ ।
रूकुम पूर्व सिस्ने गाउँपालिका–३ निवासी २९ वर्षीय खिमबहादुर खड्का मुसीकोट नगरपालिका–४ स्थित पोलमा चढेर मर्मत कार्य गर्दै गर्दा करेन्ट लागी निधन भएको हो ।
घटना बिहीबार राति करिब १०ः १५ बजेको समयमा भएको हो। नेपाल विद्युत प्राधिकरणको रूकुम पूर्व वितरण केन्द्रमा सेवा करार अन्तर्गत हेल्परका रूपमा कार्यरत खड्का, क्षेत्रको विद्युत अवरुद्ध भएपछि मर्मत गर्न खटिएका थिए ।
प्रहरीका अनुसार खड्का सोलाबाङ लघु जलविद्युत आयोजनाको लाइन नजिक मर्मत कार्यमा संलग्न थिए । कामको क्रममा आकस्मिक रूपमा उक्त लाइनको तार छोइएपछि उनी करेन्ट लागेर घटनास्थलमै ढलेका थिए ।
प्रहरी निरीक्षक ऋषि पाठकले खड्काको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको जानकारी दिएका छन् ।