
पोखरा, ९ जेठ– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको मुख नगर्ने दाबी दोहो-याएका छन् ।
पार्टीनिकट राष्ट्रिय युवासंघको १०औँ राष्ट्रिय महाधिवेशनको शक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरे ।
ओलीले स्थिरता र सुशासनका लागि नै काँग्रेस र एमाले मिलेर सरकार बनाएको जिकिर गरे । ओलीले अस्थिरताका पक्षपातीहरुले हरेक दिन सरकार ढल्यो भनेर हल्ला गरिरहेको भन्दै १४ महिनापछि आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्ने बताए ।
‘स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको हो । सरकार ढल्योढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । हामी सरकारमा रहेर निर्वाचन गराउँछौं’, ओलीले भने ।
राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले कांग्रेससँग मिलेको जिकिर ओलीको छ ।