
पोखरा, ९ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई मानशिक अवस्थाको जाँच गराउन आग्रह गरेका छन् ।
पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टरले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले आफूहरुलाई ओलीले राजावादीसँग मिल्न लागेको आरोपमा लगाएकामा प्रतिवाद गरे ।
ओलीले शुक्रबारै पोखरामा पार्टीनिकट युवासंघको १०औं महाधिवेशनको उदघाटन गरेका थिए । त्यस क्रममा उनले प्रचण्डले रास्वपा र राप्रपाको पनि नेतृत्व गरेको अभिव्यक्ति दिएका थिए ।
‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ’, प्रचण्डले भने, ‘यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जचाउन सल्लाह दिन चाहन्छु ।’
प्रचण्डले बरु उल्टै राजावादीविरुद्ध आफूहरुले गरेको भण्डाफोरले सरकारलाई राहत मिलेको बताए ।
‘बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामी र राजावादीहरुको निरंकुशतामाथिको हर्कतको भण्डाफोर गरिदिँदा सरकारलाई थोरै भए पनि राहत महसुस भयो’, उनले भने ।