
काठमाण्डु,१९ मंसिर– कांग्रेस सोलुखुम्बुले ४ मंसिरमा भएको निर्वाचनमा अन्तरघात गरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ ।
निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पाले असहयोग र अन्तर्घात गरेको जिल्ला कार्यसमितिको बताएको छ ।
आइतबार कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची मागेको थियो ।
सोलुखुम्बुमा गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी एमालेका मानवीर राईसँग पराजित भएका छन्। अन्तर्घात र असहयोगका कारण केसी पराजित भएका पदाधिकारी एवं शुभेच्छुक संस्थाका प्रमुखको संयुक्त बैठकले निश्कर्ष निकालेको थियो ।
जिल्लाको संस्थापन इतर पक्षले अब नाम्गेल जाङ्बु शेर्पालाई जिल्ला सभापति भन्न नसकिने उल्लेख गरिएको छ। जिल्ला कार्यसमितिले उनीहरूमाथि कारबाहीको मागसहित पार्टीको अनुशासन समितिमा उजुरी पठाउन लागिएको जिल्ला सचिव युवराज घिमिरेले बताए ।
उनले भने, ‘केन्द्रीय अनुशासन समितिले पुस १५ गतेभित्र सूची पठाउन भनेको छ । अन्तघातीलाई त्यसै छोड्दा भोलि पनि पार्टी हार्छ ।’ जिल्ला सचिवद्वय युवराज घिमिरे र भलाकाजी राईले एक विज्ञप्ति जारी गरेर पनि कारबाहीको माग गरिसकेका थिए ।