२८ मंसिरभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई प्रमाणीकरणका लागि बुझाउने आयोगको तयारी

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते ११:५६ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– निर्वाचन आयोगले ४ मंसिरमा भएको निर्वाचनको नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी सुरु गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको हो ।

४ मंसिर मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी छ ।

ति जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन निर्देशन दिइएको छ’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘त्यो आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नामहरू पठाउन पत्र पठाउँछ ।

आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ । भनेको समयमा नाम पठाए भने आयोगले २८ गतेभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउँछ ।’

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भैसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । एमालेले ४४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो बनेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र ले १८ सिट जितेर तेस्रो पार्टी बन्दा नेकप एकीकृत समाजवादी ले भने १० सिट जितेर चौथो दल बनेको छ ।

जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्र जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा विजयी भएका छन । देशभर ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, ९१ सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा विजयी भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us