
एजेन्सी– दक्षिण कोरियाको राजधानी सउलमा गएराति भएको भागदौडमा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् । हालुविन इभ मनाउन भेला भएका युवायुवतीको भीडमा अकस्मात मच्चिएको भागदौडमा उक्त संख्यामा मानिसहरुको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । भागदौडमा दर्जनौं घाइते भएका छन् ।
कोरोना महामारीपछि पछिल्लो तीन वर्षमा पहिलोपटक त्यहाँका सरकारले हालुविन इभ मनाउने अनुमति दिएको थियो । रात्रिकालीन जीवनका लागि प्रख्यात सउलको इतेवन क्षेत्रमा झन्डै एक लाख मानिस जम्मा भएका थिए । अत्याधिक भीडका कारण सास फेर्न कठिन भएपछि मानिसहरु भिडभाडबाट बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको बीबीसीले लेखेको छ ।
यसैबीच उक्त घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विश्व नेताहरुले दुःख व्यक्त गरेका छन् ।