
एजेन्सी– संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) की सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ ।
पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीमाथि एक व्यक्तिले सान फ्रान्सिस्कोस्थित निवासमै गएर आक्रमण गरेका हुन् । ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरुषले पेलोसीमाथि शुक्रबार बिहान ह्यामरले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ती पुरुषले सुरुमा सभामुख पेलोसी कहाँ छिन् भन्दै चिच्याएको र पछि उनका श्रीमानमाथि सांघातीक आक्रमण गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । आक्रमणबाट पउलको टाउको, पाखुरा र हातमा चोट लागेको छ। उनलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।
आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बरमा प्रहरीलाई टेलिफोन गरेका थिए । घटनापछि पेलोसी निवास पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । आफ्ना श्रीमानमाथि आक्रमण भएका बखत सभामुख पेलोसी वासिङ्टनमा थिइन् ।
यसैबीच राष्ट्रपति जो बाइडेनले सभामुखका पतिमाथिको आक्रमणको निन्दा गरेका छन् ।