राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने

काठमाण्डु टुडे २०७१ असार २६ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २६ असार – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहिबार धूम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मुलुकलाई हिन्दूराष्ट्र कायम गराउन संसद् र सडकमा सङ्घर्ष गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी बैठकले पार्टीको सक्रिय सदस्यता वितरण गर्ने तथा देशव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सङ्गठन विभाग र अनुशासन समितिद्वारा प्रस्तुत कार्ययोजना र पार्टी कार्यकर्ताको आचारसंहिता पारित गरी लागू गर्ने र राष्ट्रिय मेलमिलापको सन्दर्भमा गोष्ठी आयोजना गर्ने निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता विष्णु भट्टराईले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us