
काठमाण्डु, २३ असोज– रुसले सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई आतंकवादी सूचीमा राखेको छ ।
मेटा अमेरिकी प्रविधि कम्पनी हो । उसले फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्दै आएको छ । रुसको वित्तिय कारोबार हेर्ने संस्था रोजफिन मोनिटरिङले मेटालाई आतंकवादी चरमपन्थी सूचीमा राखेको समाचार एजेन्सीहरुले बताएका छन् । मस्कोस्थित एक अदालतले रुसी सरकारको निर्णयमा पुनर्विचारका लागि मेटाका तर्फबाट गरिएको अपिल खारेज गरिदिएको छ ।
योसँगै प्रयोगकर्ताले मेटाले सञ्चालन गरेका कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् । रुसमा गत मार्चदेखि नै फेसबुक सञ्चालनमा रोक लगाइँदै आएको छ । अलजजिराका अनुसार मेटाले आफ्नो इन्टरनेट सञ्जालबाट आतंकवादलाइ प्रश्रय दिने कुनै पनि चरमपन्थी गतिविधि नगरेको प्रष्टीकरण अदालतमा दिएको थियो । रुसी अदालतले अपिल खारेज गरी आतंकवादी सूचीमा राखेको विषयमा मेटाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।