भारतको सर्वोच्च अदालतद्वारा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न अस्वीकार

काठमाण्डु टुडे २०७९ असोज २५ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, २५ असोज– भारतको सर्वोच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणाको माग गर्दै दायर रिट निवेदन खारेज गरिदिएको छ ।

गावंश सदनसहित केही संस्थाले गाईलाई राष्ट्रिय जनावर घोषणाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । भारतमा हाल सिंह राष्ट्रिय जनावर छ । न्यायाधीशहरु एसके कौल र अभय एस ओकाले अनावश्यक भन्दै रिट खारेजीको आदेश दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले गाईलाई राष्ट्रिय जनावर नबनाउँदा कुनै मौलिक अधिकार प्रभावित नभएको बताए । राष्ट्रिय जनावर केलाई मान्ने भन्ने तोक्ने अधिकारी अदालतलाई नभएको तर्क न्यायाधीशद्वयले गरे । अदालतले उक्त रिट निवेदकलाई जरिवाना लगाउन सकिनेसम्मको चेतावनी दिएको छ ।

‘गाईं राष्ट्रिय जनावर नहुँदा तपाईंको कुन चाहिं मौलिक अधिकार हनन् भएको छ र ?’, सुनुवाइका क्रममा रिट निवेदकमाथि न्यायाधीशको प्रश्न थियो, ‘ यो त उल्टै तपाईंमाथि जरिवाना लगाउनुपर्ने खालको रिट हो ।’ अदालतको चेतावनी दिएपछि निवेदनकले रिट फिर्ता लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us