इरानबाट चीनको ग्वाङ्झाउ उडेको जहाजमा बम रहेको सूचना, दिल्लीमा अवतरणको अनुमति दिइएन

काठमाण्डु टुडे २०७९ असोज १७ गते १९:०४ मा प्रकाशित

एजेन्सी– इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको जहाजमा बम रहेको सूचना पाएपछि पाइलटले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान्स्थलमा अवतरण गर्न खोज्दा भारतले अनुमति दिएन ।

इरानी कम्पनीको डब्लू ५८१ नम्बरको महान एयरको जहाजले भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमै पाइलटले जहाजमा बम रहेको सूचना एयर ट्राफिक कन्ट्रोलरमा दिएका थिए । तर, भारतीय अधिकारीहरुले जहाजलाई अवतरणको अनुमति दिएनन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सुरक्षालाई मध्यनजर गर्दै भारतीय वायुसेनाले नयाँ दिल्लीमा अवतरणको अनुमति नदिएको हो ।

जहाज अवतरणका लागि निर्धारित उचाइभन्दा तल आएपछि उक्त जहाजलाई जोधपुर एयरवेशस्थित भारतीय वायुसेवाको दुई जहाजले पच्छ्याएको थियो ।

भारतीय सैनिक जहाजले आकाशमै घेरेपछि उक्त जहाजलाई आपतकालिन अवतरणका लागि जयपुर वा चण्डीगढ विमानस्थलमा अवतरणको अनुमति दिइएको थियो । तर, पाइलटले ती दुवै स्थानमा जहाज अवतरण गराउन इन्कार गरे ।

जहाज सोमबार ९ बजेर २० मिनेट देखि १० बजेर ५ मिनेटसम्म दिल्लीकै आकासमा घुमेको थियो । अन्ततः पाइलटले जहाजलाई
ग्वाङ्झाउ नै लगे । समाचार एजेन्सीहरुका अनुसार जहाजले ग्वाङ्झाउ विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us