रुकुम, २५ असार – जिल्लामा क्रियाशील महिला पत्रकारले पत्रकार महिलाको सामाजिक सुरक्षाको प्रत्याभूति नभएको बताएका छन् ।
काम गर्ने क्रममा विभिन्न समस्या भोग्नुपर्ने कारणले सामाजिक सुरक्षासम्बन्धी चुनौती मुख्य भएको उनीहरुको भनाइ छ । जिल्लामा क्रियाशील पत्रकार महिला जिल्ला शाखा रुकुमले बुधबार आयोजना गरेको एक कार्यक्रममा सहभागी महिला पत्रकारले रिपोर्टिङ तथा डेक्समा काम गर्दाको वातावरण असहज भएकै कारण महिला पत्रकार समस्यामा रहेको बताए ।
क्रियाशील पत्रकार महिला रुकुमकी सचिव कमला रोकाले पुरुषवादी सोचका कारण महिला पत्रकार लामो समय टिकिरहन नसकेको बताइन् । काम गर्ने क्रममा विवाहित तथा बालबालिका सहितका महिला पत्रकार अन्यको तुलनामा बढी समस्याग्रस्त रहेको सचिव रोकाले प्रष्ट पारिन् ।
विवाहित पत्रकार महिला र अन्य महिला पत्रकारमा विभेद हुनु, रिपोर्टिङको क्रममा फिल्डमा जाँदा सामाजिक तथा व्यक्तिगत असुरक्षाकै कारण महिला पत्रकार पलायन हुनुपर्ने अवस्था सिर्जना भइरहेको गुनासो पनि महिला पत्रकारको छ ।
कार्यक्रममा सहभागी अन्य पत्रकारले सामान्यतया चुनौती भए पनि अवसरको उपयोग गरेको खण्डमा महिला पत्रकारको सम्भावना रहेको बताए । व्यक्तिगत क्षमता अभिवृद्धि गर्दै प्रतिस्पर्धामा उत्रन सकेको खण्डमा महिला पत्रकार सफल हुनसक्ने भनाइ अन्य पत्रकारको थियो । रासस