पार्टीको मुखपत्र वितरणमा विवाद

काठमाण्डु टुडे २०७१ असार २५ गते ७:०० मा प्रकाशित

काठमाण्डु, २५ असार – नेकपा एमालेको जारी नवौँ महाधिवेशनमा पार्टीको प्रचार उपसमितिद्वारा प्रकाशित ‘उद्घोष’ पत्रिका वितरणको विषयलाई लिएर महाधिवेशनस्थलमा विवाद भएको छ ।

Uml-new-logoप्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली प्रधान सम्पादक र सचिव सूर्य थापा सम्पादक रहनुभएको सो पत्रिका वितरण गरिरहेका स्वयम् सेवकलाई वरिष्ठ नेता माधवकुमार नेपालका भाइ सरोज उपाध्यायले पत्रिका एकपक्षीय भएको भन्दै वितरणमा रोक लगाउन स्वयम् सेवकलाई भनेका थिए ।

उपाध्यायले सो पत्रिकामा वरिष्ठ नेता नेपालको तस्बिर प्रकाशन नभएकाले एकपक्षीय भएको दाबी गरेका थिए । तत्पश्चात् मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठ र सुरक्षा व्यवस्थापन उपसमितिका सहसंयोजक रामनाथ ढकालले पत्रिका वितरणमा रोक लगाउनुपर्ने कारण नरहेको जवाफ दिएका थिए ।

पत्रिकामा महाधिवेशन उद्घाटनका तस्बिर, महाधिवेशन तयारीका गतिविधि र महाधिवेशन प्रतिनिधिका सूचीलगायतका सामग्री छन् । विवाद बढ्ने स्थिति भएपछि सबै पत्रिका अध्यक्ष मण्डलको जिम्मामा राखिएको छ ।

अध्यक्ष मण्डलले निर्णय गरेपछिमात्रै पत्रिका वितरण हुनेछ । एमालेको नियमित मुखपत्र ‘नवयुग’ यसअघि नै वितरण भइसकेको छ । बन्दसत्रमा जारी आचारसंहिताअनुसार एकपक्षीय मानिने पत्रिका र सामग्री वितरण निषेध गरिएको छ । पार्टी निकटकै मानिने बुधबार, दृष्टि जस्ता साप्ताहिक पत्रिका पनि वितरणमा रोक लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us