काठमाण्डु, २५ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवशेनअन्तर्गत बन्दसत्रमा आज विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।

पदाधिकारी संख्या बढाउने वा नबढाउने विषयमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहबीच विवाद भएपछि विधानमा दफावार छलफल हुन लागेको हो । हरेक दफामा बेग्लाबेग्लै छलफल गरी ध्वनी मतका आधारमा पारित गर्ने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए ।
यसअघि मंगलबारको बन्दसत्रमा नेपाल पक्षले पदाधिकारी संख्या बढाउनुपर्ने र ओली पक्षले बढाउन नहुने अडान लिएपछि विधान पारित हुन नसकेको हो । सचिव युवराज ज्ञवालीद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा १५ सदस्यीय पदाधिकारी र १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख गरिएको छ ।
राजनीतिक र संगठनात्मलगायतका प्रस्ताव भने नै सर्वसम्मतिका आधारमा मंगलबार नै पारित भइसकेको छ । विधान पारित नभएपछि दुवै समूहले प्यालन घोषणा गर्न सकेका छैनन् । १९ गतेबाट सुरु भएको महाधिवेशन हिजै सक्ने पूर्वनिर्धारित कार्यतालिका रहेको भए पनि अझै केही दिन लम्बिने सम्भावना छ ।
यसैबीच निर्वाचन आयोगले आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाएको छ । विधान संशोधन प्रस्ताव पारित भएसँगै शीर्ष नेताले बन्दसत्रलाई सम्बोधन गर्ने र त्यस लगत्तै निर्वाचन प्रक्रिया सुरु हुने एमालेले जनाएको छ ।
नेपाल समूहले विश्वसनीयतामा प्रश्न उठाउँदै विद्युतीय भोटिङ मेशिन प्रयोग गर्न अस्वीकार गरेपछि मतपत्रबाटै निर्वाचन हुने भएको छ ।