खनाललाई तानातान गर्दै ओली–नेपाल

काठमाण्डु टुडे २०७१ असार २४ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, २४ असार– १९ गतेदेखि काठमाण्डुमा जारी एमालेको नवौं महाधिवेशनमा प्रतिवेदनहरु पेस भएर पारित पनि भइसकेका छन् ।
jn-madhav-kpत्यसैले अब नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । हुनत उम्मेदवारी घोषणा गर्ने बेला भइसकेको छैन तर अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका माधवकुमार नेपाल र केपी ओली दुवै पक्षले जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।
अझैसम्म मुख नखोलेका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाललाई समर्थन गर्ने कुरा जसरी एकाएक बाहिर आयो त्यसले अध्यक्षका प्रत्यासी दुवै पक्षलाई झस्काएको छ । हिजोदेखि खनालले नेपाललाई समर्थनर गर्ने रे भन्ने सुनेपछि अध्यक्षका अर्का प्रत्यासी केपी ओलीले पत्रकार सम्मेलन गरेरै अध्यक्षले आफूलाई भोट दिने बचन दिएको बताए ।
ओलीले भने, एकपटक होइन पटकपटक अध्यक्षले मलाई समर्थन गर्ने बताएका छन् ।  ओलीको यो कुरा एकै छिनमा हल्लीखल्ली भयो । जसले नेपाल पक्षलाई खुसी पार्ने कुरै भएन । त्यसैले ओलीले पत्रकार सम्मेलन गरेको एकै छिनमा नेपाल पक्षका नेताले अर्को पत्रकार सम्मेलनको चाँजोपाँजो मिलाई हाले । जहाँ नेपालले ओलीले जस्तै खनालको  समर्थन आफंैलाई भएको बताए ।
खनालले आफूको जितमा मात्र मुलुक र पार्टीले निकास पाउने कुरा चिनेकाले अध्यक्षको भूमिकामा शंका गर्न नपर्ने बताए । तर त्यसको केही मिनेटमा पत्रकार सम्मेलनमा उत्रिएका ओली पक्षका उपाध्यक्ष बामदेवले भने दुवै अध्यक्षका प्रत्यासीको तर्कको खण्डन गरे ।

आफूले जति खनाललाई अरु कसैले नचिनेको र संगत पनि नगरेको भन्दै गौतमले भने, ‘अहिलेसम्म अध्यक्षले कसैलाई पनि समर्थन गर्छु भन्नुभएको छैन । उहाँले मसँग भोट हाल्ने बेलासम्म पनि कसैको पक्षमा खुल्दिन भन्नुभएको छ ।’
‘माधव नेपाल र केपी ओलीले अनेकै किसिमले अध्यक्ष खनाललाई अप्ठ्यारो पार्दा पनि ओली र नेपाललाई यता उता बनाउँदै अध्यक्षलाई सफल बनाउने मान्छे मै हुँ’, गौतमले भने, ‘तर अब नेतृत्व हस्तान्तरण गर्ने भनेर मैले अध्यक्षलाई छोडिसकें । अध्यक्ष हुँदा र प्रधानमन्त्री हुँदा पनि हयोग र समर्थन गर्ने कमाण्डरले छोडे पछिको अवस्था के हुन्छ तपाई आफैं बुझ्नुस ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us