काठमाण्डु, २४ असार – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो अधिकारलाई कुण्ठित गरेर मन्त्रीपरिषद्ले अष्ट्रेलियाका पीआरधारी सहसचिव भरतराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गर्न खोजेको आरोप लगाएका छन् ।
कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले रातारात नियम मिचेर सामान्य प्रशासन मन्त्रालयलाई वाईपास गरी सरुवा गर्न खोजेको प्रष्ट्याएका हुन् । आफूलाई बाईपास गर्दै गए बाध्य भएर संविधान, ऐन र मन्त्रीपरिषद् कार्यसम्पादन नियमको आधारमा संबैधानिक उपचार खोज्न अदालत जाने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सम्बन्धित मन्त्रीको प्रस्तावमा यस्तो निर्णय हुने ब्यवस्था रहेको स्पष्ट पार्दै आफू अनुपस्थित रहेको बैठकमा कसरी यस्तो निर्णय भयो भनि प्रश्न गरे ।
साक्षात्कारमा मन्त्री पण्डितले भने –मैले पीआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्छु भन्दा भन्दै मेरो अनुपस्थितिमा सुवेदीलाई अर्थमा सरुवा गरिएछ । सामान्यको प्रस्ताववीना कसरी अनुमोदन हुँदो रहेछ म पनि हेरौ ।
उनले सुवेदीको सरुवा सामान्य प्रशासनले प्रस्ताव लैजानु पर्नेमा अर्थमन्त्री डा रामशरण महतबाट प्रस्ताव गएको जानकारी पाएको भन्दै यस्को सम्पूर्ण जिम्मेवारी प्रस्ताव लैजाने मन्त्री र मन्त्रीपरिषद्को अध्यक्षता गरेका कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले लिनु पर्नेमा जोड दिए । उनले भने–तर यसवारेमा मलाई केही जानकारी पनि छैन् । उहाँहरुले कसरी गर्नुभयो । म महाधिवेशनको बन्दसत्रमा भएको वेला निर्णय गर्नुभएछ, अब त्यसको जवाफदेहिता त उहाँहरुले नै लिनुपर्छ ।
पण्डितले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्र सेवक कर्मचारीहरुको तलब बढाउने प्रस्ताव सम्बन्धित मन्त्रालयबाट आए त्यसलाई अनुमोदन गरेर पठाउने स्पष्ट पार्दै राष्ट्रसेवक कर्मचारीहरुको तलब बृद्धि आवश्यक रहेकोमा जोड दिए ।
उनले एमालेको नवौ महाधिवेशनबाट क्रियाशिल ब्यक्तित्वको रुपमा माधवकुमार नेपालको नेतृत्व आवश्यक रहेकोमा जोड दिदै आफू पनि सम्भावित उपाध्यक्षको दावेदार भएको बताए ।