राष्ट्रपति बन्ने सपना बुन्दै झलनाथ माधव क्याम्पमा

काठमाण्डु टुडे २०७१ असार २४ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमाले अध्यक्ष झलनाथ खनाल अन्तत: माधव नेपालको पक्षमा खडा भएपछि अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली खेमा कमजोर हुने संकेत jn-madhavदेखिएको छ ।
बामदेव गौतमसँग गठबन्धन गरेका ओलीलाई सुरुमै थाहा थियो, बामदेव गौतम निकटका धेरै नेता/कार्यकर्ता माधव खेमातिर लागेका छन् । झलनाथ खनालसँग भएको न्युट्रल २५ प्रतिशत मत अब माधवपक्षतिर जाने भएपछि ओली पक्ष कमजोर भएको हो ।

महाविधेशनमा तटस्थ भई सर्वसम्मतिको पहल गरिरहेका खनाल मंगलबारदेखि खुलेरै माधवको पक्षमा लाग्ने सम्भावना बढेको छ । ओली र माधव पक्षको प्यानल घोषणा हुँदा खनालको तालमेल माधवपक्षतिर हुनेछ । माधव र ओलीको भिडन्तले पार्टीमा संकट उत्पन्न गरेमा आफू सर्वसम्मत अध्यक्ष बन्न पाउने झिनो आशालाई तिलाञ्जली दिँदै खनाल खुलेका हुन् ।

यसअघि नै माधव पक्षका अगुवा नेता योगेश भट्टराईले भनेका थिए, ‘झलनाथ कमरेड हाम्रो टिमको क्याप्टेन हुनुहुन्छ । उहाँले दिनुभएको पासमा माधव कमरेडले गोल गर्नुहुनेछ ।’

खनालले यो महाधिवेशनमा आफूलाई रेफ्री नै बताउँदै आए पनि खनाल निकटका भीम आचार्य, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, पुरुषोत्तम पौडेल, गोकर्ण विष्ट, सत्रुघन महतो, परशुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, ठाकुर गैरे, रामकुमारी झाँक्री, इन्द्रलाल सापकोटा, हरि राई, राजेन्द्र राई, निरज आचार्यलगायतका नेता माधव नेपालाई जिताउन लागिसकेका थिए ।
आठौं महाधिवेशनमा केपी ओली र खनालबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदा माधव नेपाल ओली खनाल पक्षमा थिए ।  आफू १५ वर्षसम्म पार्टी नेतृत्वमा रहँदा साथ दिएका ओलीलाई चटक्कै छाडेर माधवले खनाललाई अध्यक्ष बनाउन सघाएका थिए । अहिले त्यही गुन तिर्दैैछन्, खनाल ।

खनालले नवौं महाधिवेशनमा आफू नेतृत्वका लागि कुनै प्रतिस्पर्धा नगर्ने बताएपछि केपी ओली अध्यक्ष बन्न हौसिएका हुन् । खनाल अध्यक्षको प्रतिस्पर्धामा नभएपछि उनी निकटका योगेश भट्टराई, घनश्याम भुसाल, रामकुमारी झाँक्री, ठाकुर गैरेलगायतका युवाले माधव नेपाललाई अध्यक्ष बनाउने अभियान थालेका हुन् ।

गौतम ओली गठबन्धनलाई कमजोर पार्न माधव पक्षका युवाले चालेको वैचारिक नेतृत्वको अभियानमा अब खनालको पनि साथ भएपछि यो पक्षको पल्लाभारि भएको बताइन्छ ।

खनालको सपना

खनाल एमालेमा सर्वसम्मत नेता हुन चाहन्छन् । उनी राष्ट्रपति या प्रधानमन्त्री बन्न चाहन्छन् । काँग्रेससँग सत्ता साझेदारीका क्रममा एमालेले सो पार्टीसँग एक वर्षभित्रै संविधान जारी गरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुन: निर्वाचन गर्ने सम्झौता गरेको छ । ओलीले संसदीय दलमा जितेकाले उनी प्रधानमन्त्री बन्न अघि सर्न सक्छन् ।

एमालेबाट प्रधानमन्त्री भएमा राष्ट्रपति स्वत: काँग्रेसको भागमा जान्छ । यही कारण ओलीको साटो माधवलाई जिताउने र प्रधानमन्त्री काँग्रेसलाई नै दिएर आफू राष्ट्रपति बन्ने खनालको सपना छ । यही कारण खनाल र नेपालको गठबन्धन हुन लागेको हो ।

कम छैनन ओली पनि

नेपाल र खनाल गठबन्धन भए पनि केपी ओली पनि कमजोर भने छैनन् । पार्टी स्थायी समितिमा गौतम र ओलीकै बहुमत छ । १० जनाको स्थायी समितिमा ओली, गौतम, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेल र शंकर पोखरेल छन् ।

खनालतर्फ माधव नेपाल, सचिव युवराज ज्ञवाली र भरतमोहन अधिकारी मात्र छन् । ४६ सदस्यीय पोलिटब्युरो र एकसयभन्दा बढीको केन्द्रीय समितिमा पनि ओली पक्ष सशक्त छ । जनवर्गीय सागठनहरुमा अध्यक्ष खनालको पकड कमजोर छ ।

एमाले युवा संघमा महेश बस्नेत, विद्यार्थीमा किशोरविक्रम मल्ल, जिफन्टका विष्णु रिमाल, महिला सागठनकी विद्या भण्डारी, किसानका बामदेव गौतम पनि ओली प्यानलमै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us