काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग नर्गने भएपछि मेशिनका आविष्कारक
नेपाली वैज्ञानिकद्व राम/लक्ष्मण रिमाललाई एक करोड रुपैयाँ घाटा लाग्ने भएको छ ।
लक्ष्मणले ६ वटा भोटिङ मेशिन बनाउन र मतदान तायारीका लागि एक करोड रुपैयाँ खर्च भइसकेको काठमाण्डु टुडेलाई बताए । ‘मेशिन बनाउन र मतदान स्थलमा जडान गर्न हाम्रो एक करोड खर्च भएको छ’, उनले भने, ‘हामीलाई त्यो सबै घाटा भएकाे छ।’
यद्यपि उनले विद्युतीय भोटिङ मेशिन प्रयोग नहुनेबारे औपचारिक जानकारी नआएको बताए । मेशिनको बक्सलगायत उपकरण बनाउन तीन महिनादेखि तयारी गरेको र आफूहरुसहित ३४ जनाले दिनरात काम गरेको उनले जानकारी दिए ।
अध्यक्षका दाबेदार माधवकुमार नेपाल पक्षले विश्वसनियतामा प्रश्न उठाएपछि भोटिङ मेशिनको सट्टा मतपत्रमै मतदान गर्ने निर्णय एमालेले गरेको छ । मेशिन प्रयोग गर्ने/नगर्ने विषयमा एमाले नेताहरुसँग छलफल गरेपछि कसरी अघि बढ्ने भन्ने टुंगोमा पुगिने लक्ष्मणले बताए ।
भोटिङ मेशिन प्रयोग नहुने भयाे क्षतिपूर्तिका लागि कानुनी उपाय अबलम्बन गर्नुहुन्छ ? भन्ने प्रश्नमा लक्ष्मणले भने, ‘एक चरण वार्ता गर्छौं, त्यसपछि आवश्यक कदम चाल्छौं ।’ तयारीमा लागेको एक करोडभन्दा विश्वसनीयतामा प्रश्न उठाएर मेशिन प्रयोग नभए त्यसले गर्ने घाटा आफूहरुका लागि निकै महंगो पर्ने उनको भनाइ छ । ‘एक करोडको मात्र कुरा होइन, मेशिन नराम्रो भनेर प्रयोग नगरेको भन्ने सन्देश गयो भने हाम्रो जीवनभरको मिहेनत खेर जान्छ ।’
उनले एमालेसँग ‘टोकन मनी’ का रुपमा पाँच लाख रुपैयाँ मात्र लिएको जानकारी दिए । यसअघि एमाले संसदीय दल र कास्की जिल्ला कमिटीको निर्वाचनमा भने पैसा नलिएको उनले उल्लेख गरे । लक्ष्मणले एमाले नेताहरुको पटकपटकको ताकेतापछि मात्र आफूहरुले निर्वाचनमा भोटिङ मेशिन प्रयोगको तयारी गरेको खुलासा गरे ।
‘उहाँहरुले नै हरेक कार्यक्रममा महाधिवेशनलाई उच्च प्रविधियुक्त बनाउँछौं, भोटिङ मेशिनबाट मतदान गछौं भन्दै आउनुभएको हो’, ‘मेशिन प्रयोग गर्न हामीलाई पटकपटक कर गर्नुभयो, तर अहिले आएर विवाद झिक्नुभयो ।’
संसदीय दलको निर्वाचनमा सफल प्रयोग भएको मेशिनबारे अहिले आएर हचुवाका भरमा अनावश्यक हल्ला चलाइएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।