एमाओवादीको भट्टराई पक्ष पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी

काठमाण्डु टुडे २०७१ असार २२ गते ४:०० मा प्रकाशित

काठमाण्डु, २२ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष पहिलोपटक पार्टी स्थायी कमिटी बैठकमा सहभागी भएको छ ।

maoist-flagलाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आइतबार बसेको बैठकमा भट्टराई सहित उनी पक्षधर नेताहरु सहभागी भएका हुन् ।

स्थायी समितिमा सो पक्षका भट्टराईसहित टोपबहादुर रायमाझी र भट्टराई, देवेन्द्र पौडेल छन् । आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिइएको भन्दै निर्वाचनबाट चुनिएको पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारीमा नबस्ने अडानमा भट्टराई पक्ष थियो ।

आजको छलफलले पार्टीमा सकारात्मक सन्देश गएको एक नेतालाई बताए ।

निर्वाचनलाई नौटंकीको संज्ञा दिएको सो पक्षले केन्द्रीय कमिटीभन्दा माथिल्लो निकायमा जिम्मेवारी नलिने बताएको थियो । स्थायी समिति सदस्यमा निर्वाचित भट्टराईलाई केन्द्रीय समितिले वरिष्ठ नेताको हैसियत दिएको छ । रायमाझी सचिव र पौडेल स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।

स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले भट्टराई पक्ष बैठकमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको बताए । बैठकमा विराटनगर राष्ट्िरय सम्मेलनपछि भएका देशव्यापी प्रशिक्षण, उपनिर्वाचनमा पार्टी पराजयको कारण र भट्टराई पक्षले केही जिल्लामा गठन गरेको समानान्तर कमिटीका सम्बन्धमा छलफल भइरहेको बताए ।

यसअघि शुक्रबार बसेको स्थायी समिति बैठकमा अधिकांश स्थायी समिति सदस्यले पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्नेमाथि अनुशासनको कारबाही गर्नुपर्ने आवाज उठाएका थिए ।

समानान्तर कमिटी गठनको विषयमा फेरी केहि दिनमै छलफल हुने पार्टी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us