काठमाण्डु, २१ असार– एमाले महाधिवेशनले नेतृत्व चयन गर्न केही दिनमात्रै बाँकी छँदा युवा नेताहरुले भने आ–आफ्नै पक्ष विजयी हुने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा माधव नेपाल समूहका सचिवका उम्मेदवार पशुराम मेघी गुरुङले एमालेमा नेपालको विकल्प नरहेको बताए ।
मुलुकमा राजनीतिक अधिकार प्राप्तिको लडाईं समाप्त भएको भन्दै उनले मुलुकलाई समाजवादको बाटोमा डोर्याउन नेपालको नेतृत्व आवश्यक रहेको बताए । महाधिवेशनको माहोल नेपालका पक्षमा रहेकाले कसैले हराउन नसक्ने दाबी उनको थियो ।
‘माधव नेपाल भनेको अग्रगामी नेतृत्वकर्ता हो’, गुरुङले भने, ‘प्रतिनिधिहरु सवल, सक्षम र विवेकशील हुनुहुन्छ, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्दै माधव नेपाललाई अध्यक्ष बनाउनुहुन्छ, यसमा दुईमत छैन ।’
ओली समूहका युवा नेता कैलाश ढुंगेलले एमालेमा कस्तो नेता भन्दा पनि कस्तो विचार बोकेको नेतृत्व भन्ने कुरा महत्वपूर्ण भएको भन्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन ओलीको विकल्प नभएको बताए ।
‘झापा विद्रोहदेखि अहिलेसम्म पार्टीलाई सवल र सक्रिय बनाउन भूमिका खेलेका ओली कमरेडको विकल्प छैन’, उनले भने । लामो समय पार्टी नेतृत्व गरिसकेका माधव नेपाल असफलसिद्ध भएको भन्दै अब अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘माधव नेपालजस्ता नेताहरुले फेरि नेतृत्वमा दाबी गर्ने हो भने हामीजस्ता नेताहरुको राजनीतिक रिटायर्ड जिल्ला कमिटिमै हुने पक्का छ’, उनले भने, ‘जनाताको बहुदलीय जनवादको निरन्तर विकास र संरक्षण गर्ने नेता ओली भएकाले अब उहाँको विकल्प छैन ।’
अर्का नेता ठाकुर गैरेले एमालेमा यतिवेला कसलाई नेता बनाउने भन्दा पनि कस्तो नेतृत्व चाहिएको छ भन्ने महत्वपूर्ण हुने भन्दै पार्टीलाई युगसापेक्ष बनाउन नेपालको विकल्प नभएको बताए । देशभर नेपालको पक्षमा लहर रहेको भन्दै गैरेले कार्यकर्ताले माधव नेपालको नेतृत्वबाट पार्टी एकताबद्ध हुने विश्वास लिएका र मुलुकका समृद्धिका लागि पनि महाधिवेशनले उनैलाई अध्यक्ष बनाउनुपर्ने उल्लेख गरे ।
अर्का युवा नेता गोकर्ण बाँस्कोटाले नवौं महाधिवेशन नेतृत्व हस्तान्तरणको पक्षमा भएको दाबी गर्दै नेपाल अध्यक्ष बन्न नसक्ने बताए । झापा आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिन उद्गम बिन्दु भएको चर्चा गर्दै उनले त्यसका नायक केपी ओली नेतृत्वका लागि लायक भएको दाबी गरे ।
खनाललाई दुईभन्दा बढी कार्यकाल नेतृत्वमा बसेको भन्ने आरोप लाउने बामदेव गौतम र विद्या भण्डारीलाई किन लागै नहुने भनेर बुझ्न विधान पल्टाएर हेर्न सुझाव दिए । उनले त्यस्तै ओली पक्षका अर्का नेता विनोद ढकालले नेकपा एमालेको भविष्य सुनिश्चित गर्न र पार्टीलाई समयसापेक्ष बनाउन ओलीको विकल्प नभएको दाबी गरे ।
उनले ओलीलाई अध्इक्ष बनाउन कुनै तागतले रोक्न नसक्ने जिकिर गरे । नेतृ रामकुमारी झाँक्रीले नवौं महाधिवेशन व्यक्ति छनौट नभएर विचार छनौट भएको बताइन् ।
पार्टीलाई गति दिन सक्ने नेताको आवाश्यकत्ता रहेको भन्दै त्यसको नेतृत्व माधव नेपालले मात्रै गर्न सक्ने ठोकुवा गरिन् । मदन भण्डारीले कम्युनिष्ट पार्टीको नेता देवीको मुर्ति झैं गुप्तबास बस्ने भन्दा पनि जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न सक्ने बताएको चर्चा गर्दै जनतासंग प्रत्यक्ष साक्षात्कार गर्न सक्ने नेता नेपाल मात्र भएको दाबी गरिन् ।
ओली पक्षीय युवा नेता शेरधन राईले मुलुकलाई सही दिशाबोधमा हिँडाउन सक्ने नेता ओली नै भएकाले नवौं महाधिवेशनबाट ओली अध्यक्ष बन्ने सुनिश्चित भएको दाबी गरे ।
विचार, नेतृत्व र संगठनका हिसावले केपी ओली अहिलेको राष्ट्रिय राजनीतिको आवाश्यकत्ता भएकाले उनलाई अध्यक्ष बन्न कसैले नरोक्ने बताए ।