७४ वटा झोले विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ असार २१ गते ४:४८ मा प्रकाशित

महोत्तरी, २१ असार– जिल्लामा वर्षौंदेखि चलिरहेका ७४ वटा झोले विद्यालयलाई बन्द गरिएको छ ।
जिल्ला शिक्षा समिति महोत्तरीको शुक्रबारको बैठकले शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट  आएका चार सदस्यीय संयुक्त टोलीले ७४ वटा झोले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका उपनियन्त्रक जितबहादुर शाहको संयोजकत्वको चार सदस्यीय टोलीले शनिबार  पत्रकार सम्मेलन गरी जिल्लामा फेला परेका जम्मा ८६ वटा झोले विद्यालयमध्ये ७४ वटालाई बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

यस्तै टोलीले छवटा विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने र छ वटा भौतिक सुविधा सम्पन्न र अरु विद्यालयभन्दा टाढा रहेका विद्यालयलाई सञ्चालन वा अन्य वैकल्पिक व्यवस्था मिलाउनेबारे सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको संयोजक शाहले बताए ।
आयोगका नायव उपरीक्षक सुदर्शन कोइरालाको नेतृत्वमा पुसमा खटिएको टोलीले जिल्लाभरका ४९८ सामुदायिक विद्यालयमध्ये शङ्कास्पद २२५ विद्यालयको कागजात नियन्त्रणमा लिई छानबिन गरेको थियो । जसमध्ये ८६ वटा झोले विद्यालय फेला परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us