काठमाण्डु, २१ असार– निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनको खर्च विवरण बुझाउन अटेर गर्ने १८ दललाई कारबाही गरेको छ ।
ती दललाई कारबाही स्वरुप जरिवाना गरेको हो । आयोगले प्रत्येक दललाई एक हजार रुपैयाँ जरिवाना लगाएको आयोगका सचिव मधु रेग्मीले बताए । कारबाहीमा पर्नेमा सदभावना युनाइटेड, दलित मुक्ति पार्टी, लिम्बूवान मुक्ति मोर्चा लगायत दल छन् ।
समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्ख विवरण बुझाउनुपर्ने प्रावधान रहेको भए पनि ती दलले अटेर गर्दै विवरण बुझाएका थिएनन् । कारबाहीमा पर्ने सबै निर्वाचनमा एक सिट पनि जित्न नसकेका साना दल छन् ।
फोरम गणतान्त्रिकसहित ६ दलले भने प्रष्टीकरणसहित निर्वाचन खर्च विवरण बुझाएकाले आगामी दिनमा त्यसो नगर्न सचेत गराएर छाडिएको निर्वाचन आयोगले जनाएको छ । चुनावको खर्च विवरण नबुझाउनेमाथि कारबाही भएको इतिहासमै यो पहिलोपटक हो ।