काठमाण्डु, २० असार – नेकपा एमाले नवौं महाधिवेशनमा प्रतिनिधि मनोनयन नै नगरी बन्दसत्र सुरु भएको छ ।
पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकमा विवाद चर्किएपछि समितिले सो निर्णय गरेको हो ।
अध्यक्षका दुई प्रत्यासी माधव नेपाल र केपी ओली पक्षले आ–आफ्नो पक्षमा प्रतिनिधि बढाउन दवाव दिएपछि सो निर्णय गरेको एक नेताले बताए ।
विधान अनुसार ५ प्रतिशत अर्थात १११ प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ ।
मनोनित प्रतिनिधिमा तलमाथि हुदा निर्वाचन परिणाममै तलमाथि हुने देखिएकाले दुवै पक्षले प्रतिष्ठाको विषय बनाउदा मनोयनन हुन नसकेको स्रोतले जनाएको छ । यहि अवस्था रहे मनोनित प्रतिनिधि बिनानै एमालेको महाधिवेशन सम्पन्न हुने सम्भावना छ ।
साथै पार्टीको महाधिवेशनको चुनाव गर्न पार्टी निर्वाचन आयोगलाई जिम्मा दिने स्थायी समितिले निर्णय गरेको छ । सोमनाथ प्यासीको अध्यक्षतामा सो निर्वाचन आयोगमा १३ सदस्य रहेका छन् ।
बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रस्ताव र महासचिव इश्वर पोखरेलले संगठनात्मक र विधान संसोधन प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन् ।