इराकमा फसेकाको उद्धार खर्च सरकारले ब्यहोर्ने

काठमाण्डु टुडे २०७१ असार २० गते ७:३७ मा प्रकाशित

काठमाण्डु, २० असार – द्वन्द्वग्रस्त इराकका केही सहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ ।

opmcमन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको जानकारी दिँदै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालल भने, “यस कार्यका लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकिएको छ ।”

सरकारले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार÷पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट रु ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट रु छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता डा रिजालले जानकारी दिए ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि संयुक्त राज्य अमेरिका गएकाले प्रधानमन्त्रीको कार्यभार सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us