एमाले महाधिवेशनमा पुगेन तेत्तीस प्रतिशत महिला प्रतिनिधि

काठमाण्डु टुडे २०७१ असार २० गते ३:५४ मा प्रकाशित

काठमाण्डु, २० असार– नेकपा एमालेले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लेखे पनि नवौं राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधि Uml-new-logoपुग्न सकेका छैनन् ।
एमालेमा लगभग दुई लाख ६५ हजार पार्टी सङ्गठित कार्यकर्ता छन् । नवौं महाधिवेशनमा दुई हजार १८२ प्रतिनिधि छन् । त्यसमध्ये महिला प्रतिनिधि ३४१ मात्र रहेका छन् । दुई हजार १८२ प्रतिनिधिमा पाँच प्रतिशत मनोनयन गर्न बाँकी छ । मनोनयन गर्दा महिला प्रतिनिधिको सङ्ख्या लगभग ४०० हुन्छ । त्यो  १८ प्रतिशत मात्रै हो । ‘पार्टीमा माथिल्लोस्तरमा मात्र हैन, तल्लोस्तरदेखि नै महिला सङ्गठित सदस्य वृद्धि गर्नु जरुरी छ’, उपाध्यक्ष विद्यादेवी भण्डारी भन्छिन्, ‘महिला सहभागिता वृद्धि गर्न एमालले प्रयास गरिरहेको छ ।’
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको एमाले महाधिवेशनका उपाध्यक्षकी उम्मेदवारसमेत रहनुभएकी नेत्री भण्डारीले महिलासहितको पदाधिकारी र कार्यसमिति हुनुपर्ने पक्षमा आफूहरु रहेको बताइन् ।
‘प्रतिनिधि चयनमा त ३३ प्रतिशत महिला पुग्न सकेन’, ‘पोलिटब्युरो सदस्य उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले भनिन्, ‘पदाधिकारीसहित केन्द्रीय कमिटीमा भएका महिलाले पार्टीले प्रतिबद्धता जनाएअनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर कुरा उठाइरहेका छौं, पार्टीमा पुग्ने सम्भावना झन् न्यून छ, तैपनि प्रयास जारी राखेका छौं ।’
उनले पार्टीमा महिला सहभागिता वृद्धि नभएसम्म मुुलुकको विकास सम्भव नभएको बताइन् । यसैबीच एमाले सम्वद्ध अखिल नेपाल महिला संघले पार्टीमा महिला हिंसामुक्त वातावरण बनाउनुपर्ने, महिला सहभागिता वृद्धिका लागि महिलामैत्री लोकतान्त्रिक अभ्यास गर्नुपर्ने, स्थानीय निकायदेखि नै ५० प्रतिशत महिला–पुरुष समान रुपमा सङ्गठनमा नेतृत्व गर्ने अवसर दिनुपर्ने, नवौं महाधिवेशनबाट पदाधिकारीसहित ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us