काठमाण्डु, २० असार – एकीकृत नेकपा माओवादी स्थायी कमिटि बैठकले संविधानसभा उप–निर्वाचनमा पार्टी पराजित हुनुमा अन्तरसङघर्ष रहेको बताएका छ ।
लापिम्जाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बसेको स्थायी कमिटि बैठकमा उपस्थित अधिकांश सदस्यहरुले पार्टी अन्तरसङघर्ष कारक रहेको बताएका हुन् ।
गतवर्ष ४ मङसीरमा भएको संविधानसभामा काँग्रेस र एमाले विजयी भएको ४ निर्वाचन क्षेत्रमा असार ४ मा उप–निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये ३ क्षेत्रमा काँग्रेस र १ क्षेत्रमा एमालेले जित हात पारेको थियो । सो उप–निर्वाचन कैलाली ६ मा एमाओवादीको धरौटी जफत भएको थियो । साथै अन्य क्षेत्रमा पनि पहिलेको भन्दा मत परिणाम घटेको थियो ।
बैठकमा विराटनगर राष्ट्रिय सम्मेलन र प्रशिक्षणको समिक्षा भएको स्थायी कमिटि सदस्य अग्नीप्रसाद सापकोटाले काठमाण्डु टुडेलाई जानकारी दिए ।
प्रमुख प्रतिपक्षको नाताले संसदमा प्रभावकारी भूमिका खेल्ने र जनताको चाहना अनुसार संविधान बनाउन अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको सापकोटाले बताए ।
आज उठेका सवालको जवाफ अध्यक्ष प्रचण्डले भोलि बिहान बस्ने बैठकमा दिने कार्यक्रम रहेको छ ।