काठमाण्डु, २० असार–तामझामका साथ बिहीबार महाधिवेशन उदघाटन गरेको नेकपा एमालेमा मनोनित गर्ने प्रतिनिधिको विषयलाई लिएरु चर्को विवाद भएको छ ।
बन्द शत्रको पूर्वसन्ध्यामा प्रतिनिधि विवाद चर्किएपछि विवाद मिलाउने प्रयासमा स्थायी कमिटी बैठक बसेको छ । करिब २ हजार ३ सयभन्दा बढी प्रतिनिधिको टुंगो यसअघि नै लाइसकेको भए पनि मनोनित गर्ने १ सय ११ मा विवाद भएको हो ।
बिहान ९ बजेयता जारी स्थायी कमिटी बैठकले गुटगत आधारमा प्रतिनिधि मनोनयन गर्ने सम्भावना छ । भृकुटी मण्डपमा दिउँसो १ बजेपछि सुरु हुने बन्दशत्रमा आज राजनीतिक र संगठनात्मक प्रतिवेदनका साथै विधानसम्बन्धी प्रस्ताव पेश हुने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलले विधान र संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । महाधिवेशनमा प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्च्व चयनका लागि निर्वाचन हुनेछ ।
अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले उम्मेदवारी घोषणा गरिसेकका छन् । अध्यक्ष खनालले भने सर्वसम्मत भए आफू पुन: नेतृत्व लिन तयार रहेको बताउँदै आएका छन् ।