बाँके, २० असार– जिल्लाको पिप्रहवा स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्रको अभावमा ६१ प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ ।
नेपाल सरकारले प्रत्येक गाविसअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिए पनि बाँकेका १५ स्वास्थ्य केन्द्रमा यो सेवा सञ्चालन नभएपछि महिलालाई समस्या भएको छ ।
पिप्रहवा स्वास्थ्यचौकीमा भौतिक पूर्वाधारको अभावमा सेवा सञ्चालन गर्न नसकिएको प्रमुख गिरबहादुर गुरुङले बताए । ‘सेवा सञ्चालनका लागि सबै सामग्री आइसकेको छ तर भवन अभावमा सञ्चालन गर्न सकिएको छैन’, चौधरीले भने ।
उक्त चौकीको स्तरोन्नति भई अहिले स्वास्थ्यचौकीमा परिणत गरिएको छ । आवश्यक जनशक्ति पूरा भए पनि प्रसूति सेवा नहुँदा प्रभावकारी सेवा पाउन नसकिएको स्थानीयवासीको गुनासो छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा यहाँ आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जीवनकुमार मल्लले आमा र बच्चाको स्वास्थ्यका लागि प्रसूति सेवा जिल्लाका प्रत्येक गाविसमा स्थापना गर्ने लक्ष्यअनुरुप पहल भइरहेको जानकारी दिए ।
जिल्लामा अहिले उपस्वास्थ्यचौकी २०, स्वास्थ्यचौकी २४ र प्राथमिक स्वास्थ्यचौकी तीनवटा छन् । त्यसमध्ये ३२ वटा स्वास्थ्य केन्द्रमा मात्र प्रसूति सेवा सञ्चालनमा छ ।